मत परिवर्तन नगर्न विदेशमा रहेको छोराको बुबालाई पत्र

Spread the love

आदरणीय बुवा, सादर ढोग-प्रणाम ।
म यहाँ सञ्चै छु र हजुरहरू पनि त्यहाँ सबैजना सञ्चै हुनुहुन्छ भन्ने आशा गर्दछु । कामको व्यस्तताले गर्दा समयमा म्यासेज फर्काउन सकिन। म यहाँ परदेशी  भूमिमा पसिना बगाउँदै गर्दा पनि मन भने सधैँ त्यहीँ गाउँको चौतारी, टाकुरा बेसी  र हाम्रै घरको आँगनमै हुन्छ। यता जतिसुकै सुख-सुविधा भए पनि आमाले पकाएको कोदोको रोटी, ढिडो, मकैको आटो र हजुरले सुनाउनु हुने गाउँ  घर वरपरका कुराहरुको तिर्सना कहिल्यै नमेटिने रहेछ। तपाईले पठाएको म्यासेज केहीबेर अघि पढे मनमा धेरै कुराहरु खेले कौतुहलता बढ्यो।  अनि तिनै तपाईले लेखेका शब्दहरुमा मन घोतलियो अनि  केही कुराहरू साट्न मन लागेर  यो चिठी लेख्दैछु।

“बुवा, अहिले गाउँमा चुनावको चहलपहल निकै बढेको छ भन्ने समाचारहरु मैले सामाजिक संजालमा पढी रहेको छु अनि तपाईले पनि त्यहि कुरा म्यासेजमा लेख्नु भएको रहेछ। तपाईले पनि यसपाली त नयाँलाई मत दिनु पर्छ कि? माहोल त्यस्तै छ भनेको सुन्दा मनमा एउटा छुट्टै कौतुहलता र केही चिन्ता पनि थपिएको छ। कल्पना गर्छु— अहिले त गाउँका चोक-चोक, टोल-टोल र घर – घरमा रङ्गीचङ्गी झण्डाहरू गाडिएका होलान्, घर पल्तिरको घुम्ती, पारि  पट्टिको चिया पसलहरूमा विकासका ठूला-ठूला गफहरू चल्दा हुन्। यस्तो बेला धेरै नयाँ अनुहारहरू, नयाँ सपना र लोभलाग्दा नाराहरूको पोको बोकेर गाउँघर अनि हाम्रै घरको दैलोमा भोट माग्न आए होलान कति आउँदै छन् होला। उनीहरूका कुरा सुन्दा लाग्दो हो—रातारात गाउँ स्वर्ग बन्नेछ। तर बुवा, म यो बिरानो मुलुकमा पसिना बगाउँदै अलि टाढाबाट परिस्थिति नियाल्दा के महसुस गर्छु भने, सपना देख्नु र देखाइनु एउटा कुरा हो, तर ती सपनालाई भुइँमा उतारेर साकार पार्नुमा आकाश-पातालको फरक छ।

म त धेरै वर्ष देखि विदेश बसेको, समाज त मैले भन्दा तपाईले बढी बुझ्नु हुन्छ, याद गर्नुस त तपाई टाकुराको बाटोमा लडेर खुट्टा मर्केको बेला आफ्नो पिठ्युमा बोकेर ३ दिन अस्पतालमा कुरेर बस्ने, आमालाई गाह्रो पर्दा तपाई संगै जाने, कसैलाई नराम्रो नबोल्ने, जस्तो सुकै दुख सुखमा सबैलाई काँध थप्न तयार हुने, हाम्रो गाउँको माटोको सुगन्ध, त्यहाँका मान्छेका वास्तविक पिरमर्का र हाम्रो संघर्षपूर्ण जीवनलाई जसले दशकौँदेखि नजिकबाट भोगेको छ र हामीसँगै सुख-दुःखमा भिजेको छ, उसैले मात्र हाम्रो मर्म बुझ्न सक्छ।  त्यहि व्यक्तिले आज तपाइको एउटा भोट मागी रहेको छ अनि तपाई भन्दै हुनुहुन्छ यसपाली परिवर्तन गरौँ कि ? नयाँ जोस र लहरको कुरा सुन्दा सुन्नलाई मिठो त लाग्छ, तर राज्य सञ्चालनको जटिल बाटो हिँड्न र विकासको जग बसाल्न केवल जोसले पुग्दैन; त्यसका लागि त वर्षौँको अनुभव, धैर्यता र एउटा बलियो सङ्गठित शक्ति नै चाहिन्छ। हेर्नुस त घर भन्दा तल स्वामीको बुटो, एउटा ठूलो बुटो जतिसुकै अग्लो र आकर्षक देखिए पनि, त्यसलाई ठूला-ठूला हावाहुरीबाट जोगाएर टिकाइराख्ने त जमिन मुनिका ती पुराना र बलिया जराहरूले नै हो। ती पुराना जराहरू बिना बुटोको अस्तित्व लामो समय रहन सक्दैन।

म परदेश आएको अब तेह्र बर्ष पुग्दैछ त्यस बिचमा हाम्रो गाउँमा धेरै बिकाश भएका छन्। हजुर बुवासँग पल्टदै उठ्दै त्यो बेशी झर्ने टाकुराको ठाडो बाटोमा  अहिले मोटर कुद्छन । हाम्रो खोला वारिपारी भएको खेतमा रोपाई गर्दा धानको बिउ डोकोमा बोकेकी आमालाई सर्दी खोलाले बगाएको त बिर्सनु भएको छैन नि! अहिले त्यो खोलामा पुल बनेको छ मोटर कुद्छन। हामीले पढ्ने टिनको चुहिने छानो भएको त्यो स्कुल अहिले पक्कि भवन, प्रयोगशाला, कम्प्युटर ल्याब र अरु थुप्रै सुबिधा सम्पन्न छ। गाउँमा अहिले  धेरै कुरा भएका छन। तपाईलाई  केही भएन, देश बर्बाद भयो भनेर अनेक कुरा भनिरहेका होलान तर वास्तविकता त्यस्तो छैन। हाम्रो ठाउँमा धेरै विकास भएका छन कति हुने प्रक्रियामा छन्। देशमा साधन स्रोतको कमि भएर हो हामीले बिदेशमा आएर देखे जस्तो विकास नभएको त्यो हामीले बुझ्नु पर्छ। यो भएन त्यो भएन भनेर यो र त्यो सबै एकै चोटी गरिदिने कोई पनि आउदैन कसैले सक्दैन पनि, भ्रममा नपर्नु होला।

त्यसैले बुवा, यो पटकको चुनावमा हजुरले आफ्नो अमूल्य भोटको निर्णय गर्दा केवल बाहिरबाट आएको नयाँ लहर वा क्षणिक भावनामा न बगिदिनुहोला। जसले हिजो अप्ठ्यारो पर्दा हाम्रो साथ दिए, जोसँग काम गर्ने अनुभव छ र जसको सङ्गठन गाउँ-गाउँसम्म फैलिएको छ, त्यस्ता र अनुभवी  उम्मेदवारलाई नै छान्नुहोला भन्ने मेरो हृदयदेखिको अनुरोध छ। हाम्रो भविष्यको साँचो कुनै प्रयोग गर्ने व्यक्तिको हातमा भन्दा पनि खारिएको र भरपर्दो हातमा सुम्पिनु नै आजको बुद्धिमानी हुनेछ।” हवस्त बुवा अहिलेलाई यत्ति नै फेरी कुरा गरौँला अहिले मेरो फेरी काममा जाने बेला पनि हुन लाग्यो। घरमा आमालाई मेरो सम्झना भनिदिनु होला र आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला । अर्को पटक फोनमा थप कुरा गरौँला । प्रणाम
हजुरको प्यारो छोरो,
सात समुन्द्र परिबाट


Spread the love

Leave a Reply